
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा



काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो र दोश्रो सिफ्टका लागि २ सय तथा तेश्रो सिफ्टका लागि २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
जाडोयाममा नियमित बन्द हुने आउटडोर पोखरी गत असोज १० गतेदेखि बन्द गरिएको थियो । आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।


