
आयल निगमलाई १५ दिनमै साढे ७ अर्ब बढी घाटा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेका कारण ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ ।
निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३१ मार्चको मूल्यसूचीका आधारमा भारतबाट आयात गर्दा पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद भइरहेको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. २५७.९२, अन्तर्राष्ट्रियतर्फ रु. २६३.९ र एलपी ग्यास प्रतिसिलिन्डर रु. २,३४१.२५ मा खरिद भइरहेको निगमले जनाएको छ ।
हालको खुद्रा बिक्री मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.३२, डिजेलमा रु. ८७.९९ र मट्टीतेलमा रु. ३६.७० घाटा भइरहेको निगमको भनाइ छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. ०.९२, अन्तर्राष्ट्रियतर्फ ६.५२ डलर र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ३३१.२५ घाटा देखिएको छ ।
नेपाल आयल निगमका अनुसार पछिल्लो १५ दिनको अवधिमा पेट्रोल बिक्रीबाट ७ करोड ६८ लाख रुपैयाँ घाटा भएको छ भने डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख रुपैयाँ नोक्सानी देखिएको छ । त्यस्तै मट्टीतेलमा ३ करोड १७ लाख रुपैयाँ घाटा भएको विवरण छ ।
हवाई इन्धनतर्फ आन्तरिक उडानमा २४ लाख रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ३ करोड ८४ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ । एलपी ग्यासतर्फ मात्र ५० करोड ४३ लाख रुपैयाँ नोक्सानी भएको उल्लेख गरिएको छ ।
समग्रमा पछिल्लो १५ दिनमा कुल ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको निगमको तथ्यांकले देखाएको छ ।


