
गुणस्तर सुधारको लक्ष्यसहित ब्रीटिश कलरको ‘पेंटर्स मिट’



काठमाडौँ । नेपाल प्रोडक्ट ब्रीटिश कलर प्रालीले काठमाडौं उपत्यकामा चैत २८ गते शनिवार ‘पेंटर्स मिट’ कार्यक्रम आयोजना गरी आफ्नो उत्पादन, बजार प्रतिक्रिया तथा प्रयोगकर्ताको अनुभवबारे प्रत्यक्ष संवाद गरेको छ । उत्पादनको गुणस्तर सुधार र ग्राहकको वास्तविक अपेक्षा बुझ्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा उपत्यकाका विभिन्न स्थानबाट आएका १५० भन्दा बढी पेन्टरहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीले लामो समयदेखि बजारमा रहेका आफ्ना कलर उत्पादनहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्दै त्यसको प्रयोग विधि, विशेषता र व्यवहारिक पक्षबारे छलफल गरेको हो । कार्यक्रममा विशेष गरी कलरको टिकाउपन, कभरेज क्षमता, रङ्गको स्थायित्व, मौसम अनुकूलता तथा प्रयोगका क्रममा देखिने व्यवहारिक चुनौतीहरूबारे पेन्टरहरूको अनुभव सुन्ने अवसर पनि कम्पनीले प्राप्त गरेको छ ।
पेन्टरहरूलाई उपभोक्तासम्म उत्पादन पुर्याउने अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कडीका रूपमा लिँदै कम्पनीले उनीहरूको अनुभवलाई आगामी सुधार प्रक्रियाको आधार बनाउने स्पष्ट प्रतिबद्धता जनाएको छ ।
मार्केटिङ प्रमुख शिव मिश्रले उत्पादन बजारमा डिलरमार्फत बिक्री भए पनि वास्तविक प्रयोगकर्ता र उपभोक्ताको अनुभव पेन्टरहरूमार्फत नै प्रत्यक्ष रूपमा बुझ्न कार्यक्रम आयोजना गरेको बताए । कम्पनीले उत्पादनको गुणस्तरमा विश्वास राखे पनि बजारबाट आउने प्रतिक्रिया नै सुधारको प्रमुख आधार रहेको मिश्रको भनाई छ । उनले भने, ‘हामी डिलर नेटवर्कमार्फत उत्पादन वितरण गर्छौँ, तर वास्तविक रूपमा प्रयोग गर्ने र भोगाइ बताउने पेन्टरहरू नै हुन् । उनीहरूले हाम्रो उत्पादन प्रयोग गर्दा आउने अनुभव, समस्या र सुझावहरू बुझ्नु हाम्रो लागि अत्यन्त आवश्यक छ ।’
मिश्रले पेन्टरहरूसँगको प्रत्यक्ष संवादले उत्पादन विकासलाई अझ वैज्ञानिक र व्यवहारिक बनाउने विश्वास पनि व्यक्त गरे । कम्पनी अब केवल उत्पादन बिक्रीमा सीमित नभई प्रयोगकर्ताको अनुभवलाई केन्द्रमा राखेर सुधार र नवप्रवर्तनतर्फ अघि बढ्न चाहने बताए ।
कार्यक्रममा सहभागी पेन्टरहरूले विभिन्न ब्रान्डका कलर प्रयोग गर्दा भोगेका अनुभवहरू राखेका थिए । कम्पनीले पेन्टरहरूबाट प्राप्त सुझावलाई सङ्कलन गर्दै आगामी उत्पादन विकास तथा सुधार प्रक्रियामा समावेश गर्ने जनाएको छ। कार्यक्रममा विशेष गरी काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रबाट आएका पेन्टरहरूको उपस्थिति रहेको थियो ।
ब्रिटिश कलरले आयोजना गरेको यो ‘पेइन्टर्स मिट’ कार्यक्रम केवल औपचारिक भेटघाट मात्र नभई उत्पादन सुधार, बजारको वास्तविक प्रतिक्रिया सङ्कलन र उद्योगसँग प्रत्यक्ष जोडिएका प्रयोगकर्तासँग सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।


