
सुबिसुको आयोजनामा काठमाडौंमा ‘एपाक आइपीभी सिक्स काउन्सिल मिट’ हुँदै



काठमाडौं । सूचना प्रविधि क्षेत्रमा २५ वर्षदेखि सक्रिय सुबिसु लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘चौथो एपाक आइपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ। उक्त सम्मेलन अप्रिल ९ र १० (चैत २७ र २८) मा काठमाडौंस्थित होटल र्याडिसनमा सञ्चालन हुनेछ।
नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधिसम्बन्धी सम्मेलन आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई थप गति दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस सम्मेलनले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार सम्बन्धी छलफलको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा फाइभजी, स्मार्ट शहर तथा ठूला औद्योगिक स्वचालनजस्ता आधुनिक प्रविधिका लागि आवश्यक ‘आइपीभी सिक्स’ प्रणालीले कसरी असीमित इन्टरनेट ठेगाना उपलब्ध गराउँछ भन्ने विषयमा छलफल गरिनेछ। साथै बढ्दो साइबर सुरक्षासम्बन्धी चुनौतीहरूबारे पनि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ।
यस वर्षको सम्मेलन विशेषगरी ‘इन्टरप्राइज नेटवर्क आर्किटेक्चर’ मा ‘आइपीभी सिक्स’ को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ। विश्वभरका संस्थाहरू क्लाउड–आधारित, सफ्टवेयर–निर्धारित तथा सुरक्षित नेटवर्क प्रणालीतर्फ उन्मुख भइरहेको अवस्थामा ‘आइपीभी सिक्स’ अब केवल प्राविधिक सुधार मात्र नभई रणनीतिक आवश्यकता बनिसकेको आयोजकले बताएको छ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा स्वदेशी तथा अन्तर्राष्ट्रिय स्तरका मुख्य वक्ता र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया तथा क्षमता अभिवृद्धिको अवसर प्रदान गर्नेछ।
सम्मेलनको पहिलो दिन ‘ग्लोबल अडाप्टेसन, इनसाइट्स एन्ड सेपिङ योर आइसीटी इकोसिस्टम विथ आइपीभी सिक्स’ विषयमा छलफल हुनेछ भने दोस्रो दिन ‘एम्पावरिङ योर इन्टरप्राइज नेटवर्क थ्रु आइपीभी सिक्स एन्ड डीएनएससेक डिप्लोयमेन्ट’ विषयमा केन्द्रित रहनेछ।
सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले भने, “यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्नेछ। सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने अवसर पाउनेछन्। यसले आगामी दिनमा नेपालले अवलब्न गर्ने नयाँ नेटवर्क नीतिहरूमा समेत सहयोग पुर्याउनेछ।”


