
सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्



सुदूरपश्चिम। प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।
यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँहरू भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्द्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्द्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।
बाह्य पर्यटकहरू टिकाउन पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्द्धन एवं विकास हुन नसकिरहेको उहाँहरूको भनाइ छ ।
पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताए । उनले भने, “धेरै गन्तव्यस्थलमा न्यूनतम पूर्वाधार पनि पुर्याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन ।”
बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो ।
सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइँ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्याङ्कअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौँ, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् ।
प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्द्धनका लागि योजनाबद्ध काम भइरहेका बताए । उनले भने, “चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा रु ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन् ।”
मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र८२ मा विभिन्न सीमानाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् ।
रावलले भने “सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटकहरू भने प्रदेशका पहाडी जिल्लाका धार्मिकस्थलमा पुग्ने गरेका छन् ।” आव २०८२र८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालनमा छ ।
धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ ।
प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंवदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ ।
यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुङ्गे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तरराष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् ।
विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज चलाउनुभएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौँ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ ।
जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।
कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्घे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिङ्गको स्वरुपमा प्राकृतिक रूपमा बनेको लिङ्गा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।
समुद्री सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार सोहनुसार हुन नसकेको प्रमुख रावलले बताए ।
धुपिसल्ला र लालीगुराँसको जङ्गलका बीचमा रहेको पाटन, रङ्गीविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।
बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिए । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।
यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको छ ।


