सिलवालको अप्रत्याशित बहिर्गमन : लघु निर्जीवन बीमकको पुलमा जोडिने एजेण्डा अलपत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनेकौ निर्णयहरुलाई टुंगोमा लगाउनु भन्दा पूर्व यस अघिका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले एक्कासी पदबाट बाहिरीनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । त्यो पनि कार्यकालको अन्तिम समयमा ।
त्यसरी अध्यक्ष बाहिरीएसँगै बीमा क्षेत्रमा उनले के कति गरे वा के कति गर्न सकेनन् ? भन्ने समिक्षाको विषय रहदै गर्दा यता लघु बीमा कम्पनीहरुले नौलो विषय सुनाएका छन् । त्यस्तो विषय हो, लघु बीमा कम्पनीहरुलाई पुलमा जोड्ने एजेण्डा ।
बीमा प्राधिकरणमा रहदै गर्दा निवर्तमान अध्यक्ष सिलवालले लघु बीमा कम्पनीहरुलाई पुलमा लग्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले खुलासा गरेका छन् ।
हालसम्म लघु जीवन बीमकलाई पुलमा जोडिसकेको अवस्थामा लघु निर्जीवन बीमकले समेत पुलको माग गर्न सुरु गरेका हुन् । सोही समयमा यता ठूला निर्जीवन बीमा कम्पनीहरुले नयाँ आएका लघु बीमा कम्पनीहरुले पुलमा जोडिन धेरै हतार गर्न नहुने सुझाव दिइरहेका छन् । तर, लघु निर्जीवन बीमकहरुले आफूहरुले पुलमा जोडिनु र ठूला बीमा कम्पनीहरुले पुलमा जोडिने विषय गणीतिज्ञ हिसाबमा सही र उस्तै हुने बताएका हुन् । लघु बीमा कम्पनीहरुले पनि आफ्नो पुँजी र रिजर्भ कोष मात्र नभई त्यस भन्दा बाहेक पूनर्बीमा कम्पनीहरुसँग आवद्ध रहने कुरा कसैले भुल्न नुहने स्पष्ट पारेका छन् ।
लघुबीमा कम्पनीः जन्मिदै लघु बीमक संघदेखि पुलको यात्रामा
हामीले ठूला तथा पुराना कम्पनीहरुको इतिहासलाई केलायौं भने उनीहरुले बीमक संघलाई सशक्त बनाउँन लामो समय गृहकार्य गरेको देखिन्छ । यता बीमा पुलको नाममा पनि विभिन्न व्यावसयिक कठिनाईदेखि बेमेलका अवस्था, खटपटदेखि कतिपय पुलहरु खारेजीको अवस्थासम्म पुगेका इतिहास जगजाहेर नै छ । तर, बीमा कम्पनीहरुले समेत संघ बनाएर, पुल बनाएर एकतावद्ध रुपमा काम गरेको बेलामा बीमित तथा आम नागरिकहरु लाभान्वित नै नभएका भने होइनन् ।
ठिक यस्तै बेलामा लघु निर्जीवन बीमा कम्पनीहरुले समेत केही वर्ष अघिका निर्जीवन बीमा कम्पनीहरुको हाराहारीमा चुक्ता पुँजी जुटाएर नै बीमा बजारमा व्यावसायिक प्रतिस्पर्धा सुरु गरेको देखिन्छ । केही वर्ष अघि निर्जीवन बीमकहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँ मात्रै थियो भने अझै पनि केही कम्पनी सोही पुँजीलाई नियमनकारी निर्देशन अनुसार बढाएर पूर्णता दिने प्रक्रियामै छन् । सुरुवाती चरणमा नै लघु बीमक संघ खडा गरेका लघु बीमा कम्पनीहरुले अहिले भने व्यावसायिक बीमा पुलको बाटो रोजेको भेटिएको हो ।
त्यसैले पुलमा जोडिने लघु बीमा कम्पनीहरुको योजनालाई नेपाल बीमा प्राधिकरणका आगामी नेत्तृत्वले समेत निकै सकारात्मक लिनेमा लघु निर्जीवन बीमकहरु सकारात्मक रहेको पाइएको हो ।