लघु बीमाले रेट कटिङ्ग गरे: ठूला निर्जीवन बीमक,निर्देशिका पढ्नुस् :लघु बीमक
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा एउटै विषय चर्चामा छ । त्यस्तो विषय भनेको लघु बीमा कम्पनीहरुले ठूला निर्जीवन बीमा कम्पनीहरुको तुलनामा निकै सस्तोमा (चलिआएको भन्दा न्यून शूल्कमा) बीमा गर्न सुरु गरे भन्ने नै हो । तर, सोही विषयमा दुवै किसिमका ठूला र साना बीमा कम्पनीहरुले आ–आफ्नै पक्षबाट बोलेका छन् । उनीहरुको धारणालाई नै आधार बनाउँदा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण स्वयमले लघु बीमाको परिभाषालाई थप स्पष्ट बनाउँनु पर्ने खाँचो देखिएको छ । यता बीमा विज्ञले भने बजारको स्वच्छ प्रतिस्पर्धामा (मार्केट इन्फमेसनमा म्यानुपुलेसन) बजारको सूचनामा भ्रम पैदा गर्न नहुनेसम्मको राय, सुझाव व्यक्त गरेका छन् ।
वि.स.२०८१ साल भदौ १८ गते नेपाल बीमा प्राधिकरणले सम्पत्ति लघुबीमाको बीमादर सम्बन्धि निर्देशन जारी गरेको छ । प्राधिकरणको सो निर्देशन अनुसार इजाजत पत्र प्राप्त सबै लघु निर्जीवन बीमकहरुलाई लागू हुने गरि दर तोकिएको छ । त्यसरी तोकिएको दरमा फेरी ठूला पूँजी भएका निर्जीवन बीमकहरुले नै व्यावसायका लागि हात थापि रहेको तथ्य फेला परेको हो । हाल लघु बीमामा १ रुपैयाँ ५० पैसा पर्ने बीमा पुराना तथा ठूला निर्जीवन बीमा कम्पनीमा २ रुयैयाँ लाग्ने भएसँगै यसले बीमा बजारमा विभिन्न किसिमका प्रभाव पारेको अवस्था छ ।
सम्पत्ती लघुबीमाको बीमादर ठूला बीमा कम्पनीलाई होइन-लघु बीमक
ठीक यही समयमा ठूला निर्जीवन बीमकहरुले नै सोही लघु बीमाको बीमादरलाई आधार बनाएर गैर कानुनी रुपमा बीमा गरेको खुलासा गरेका हुन् । उनीहरुले बीमा प्राधिकरणको उदेश्य स-साना तथा न्यून आय भएका नागरिकहरुमा लघु बीमा कम्पनीहरुमा पुग्नु पर्ने उदेश्य रहेको र सोही अनुसार आफूहरुले जसरी लाइसेन्स पाएको छ, निर्देशन जारी भइरहेको छ सोही अनुसार काम गरि रहेको दाबी गरेका हुन् । एक लघु बीमा कम्पनीमा आवद्ध बीमा क्षेत्रका अनुभवी कर्मचारीले उक्त सूचना दिँदै आफूहरु नेपाल बीमा प्राधिकरणले गत भदौ १८ गते जारी भएको निर्देशनलाई टेकेर कार्य सम्पादन गर्दा सोही निर्देशनको ठूला कम्पनीहरुबाट गलत व्याख्या र अभ्याससम्म भएको खुलाएका छन् ।
उनीहरुले लघु बीमा कम्पनीलाई दिएको निर्देशन र ठूला कम्पनीहरुले गर्ने लघु बीमाको पाटोलाई एकै ठाउँमा मुछेर हेर्ने नभई त्यसको उदेश्यलाई केलाएर हेर्नु पर्ने सुझाव दिएका छन् । न्यून आय भएका नागरिकहरुको बीमा गर्ने दायित्व लघु बीमाको भएको भन्दै ठूला बीमा कम्पनीहरुले उनीहरुको कतिपय बिजनेस मोडेललाई लघु बीमाको नाममा भ्रम फैलाउँने वा बीमितमा दुविधा सिर्जना हुने काम नगर्न समेत सुझाव दिएका छन् ।
सिधै रेट कटिङ्ग भयो-ठूला निर्जीवन बीमक
सोही विषयमा ठूला निर्जीवन बीमकहरुले पनि आफ्नै किसिमको सुझाव दिएका छन् । उनीहरुले विगत लामो समयदेखि ठूला कम्पनीहरुले सरकारबाटै इजाजत लिएर आफ्नो व्यवसाय चलाएको ठाउँमा फेरी सोही बीमाकै लागि अर्को कम्पनीलाई न्यून शुल्कमा बीमा गर्न दिनु विभिन्न कोणबाट रेट कटिङ्ग भएको हो भन्ने बताउँदै आएका छन् । कतिपय अवस्थामा नयाँ व्यवसाय लिने होडबाजीमा लघु बीमा कम्पनीहरुले व्यवसायको अग्रिम ठेक्का लिएको जस्तै, पुरानो बजार भाउँ बिगारेको र त्यस्ता बाटाहरु बीमा प्राधिकरणले नै खुलाएको आरोप ठूला बीमा कम्पनीहरुले लगाउँन सुरु गरेको अवस्था छ ।
मिस सेलिङ्ग र नीति उल्लङ्घन गर्न कसैले पाउँदैन-प्राधिकरण
यता सोही विषयमा बीमा प्राधिकरणका अनुभवी कर्मचारीहरुले भने सबैले बजारमैत्री अभ्यास पालना गर्नुको विकल्प नरहेको बताएका छन् । कुनै पनि नाममा बीमितलाई सास्ती दिने किसिमको मिस सेलिङ्ग वा आफ्नो व्यावसायीक सिमा नाघ्ने किसिमले काम गर्न नहुने बताएका छन् ।
एउटै प्रकृतिको व्यावसायमा दुई वटा रेट राख्नु घातक-विज्ञ
बीमा विज्ञ डा. रबिन्द्र घिमिरेले एउटै प्रकृतिको व्यावसायमा दुई वटा दर कायम गर्नुले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत नागरिकलाई (इन्जस्टीस) अन्याय हुने किसिमले निर्णय गरेको बताए । बीमा विज्ञ घिमिरेले बीमा दर्पण डटकमसँगको कुराकानीमा जान्ने सुन्नेले सस्तो बीमा गर्ने र बीमाको जानकारी कम भएको मान्छे ठगिने अवस्था निम्तीनेमा जोड दिए । उनले भने,‘तपाईले थाहाँ पाउँनु भयो सस्तोमा सुविधा लिनु भयो मैले, थाहाँ पाएको छैन म महङ्गगोमा पर्छु । ओपन मार्केट इकोनोमीमा यस्तो हुँदैन, यसमा खुल्ला प्रतिस्पर्धा समेत सम्भव छैन ।’
सम्पत्ती लघुबीमाको बीमादरमा के छ ?
सम्पत्ती लघुबीमाको बीमादरमा २०८० साल भदौ ७ मा जारी सम्पत्ति लघुबीमालेख अन्तर्गत सबै प्रकारका सम्पत्तीहरुको १ रुपैयाँ ५० पैसामा प्रतिहजारमा बीमा गर्न सकिने प्रावधान अघि सारिएको छ । त्यस्तै, लघु बीमा निर्देशन २०७९ मा तोकिएको बीमांकको सीमा भित्र रहि देहायको सम्पत्तिहरुको बीमा गर्दा १ रुपैयाँ ५० पैसा प्रतिहजार बीमादर कायम गर्ने र अन्य सम्पत्तिको हकमा उचित जोखिमांकन गरी सम्पत्ती बीमा निर्देशन २०८० मा तोकिएका बमोजिम बीमादरमा बीमा गर्न सकिने व्यवस्था गरिएको भन्ने निर्णय गरिएको छ ।
त्यसरी जारी गरिएको निर्देशन पत्रमा गोठ,खोर,तबेला, पोल्ट्री फार्म, माछा पोखरी र कृषि सम्बन्धि टनेल, वनस्पतीको कलमी उल्लेख गरिएको छ । त्यसरी नै स्वास्थ्य चौकी, सामुदायिक भवन, सामुदायिक विद्यालय, नहर तथा पुल, मिल, होम स्टे, कोल्ड स्टोरेज, खाजा घर निर्देशनमा उल्लेख गरिएको छ । साथै, सोही पत्रमा किराना पसल, कपडा पसल, व्युटी पार्लर, फलफुल पसल, तरकारी पसल, कृषि औजार पसल, अन्य लघु उद्यम तथा घरेलु उद्योम तथा घरेलु उद्योगका रुपमा दर्ता भएका व्यवसायहरु उल्लेख गरिएको अवस्था छ ।