
दक्षिण एसियामा नेपालकै तीव्र इन्टरनेट, विश्व वरीयतामा ८९औँ स्थानमा उक्लियो



काठमाडौं । तीव्र गतिको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा नेपालले दक्षिण एसियाली क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। इन्टरनेट गति मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘ओकला’ ले सार्वजनिक गरेको सन् २०२६ जनवरी महिनाको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार ८४.३८ एमबीपीएस औसत गतिको साथ नेपाल विश्वको ८९औँ स्थानमा उक्लिएको हो।
उक्त तथ्यांकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) भित्र नेपाललाई सबैभन्दा अगाडि देखाएको छ। नेपालपछि बङ्गलादेश ६४.३७ एमबीपीएससहित विश्वको ९६औँ स्थानमा तथा भारत ६१.६७ एमबीपीएससहित ९८औँ स्थानमा रहेका छन्। यसैगरी श्रीलङ्का ३५.७९ एमबीपीएससहित १२६औँ, माल्दिभ्स २०.३० एमबीपीएससहित १३९औँ, पाकिस्तान १८.०६ एमबीपीएससहित १४५औँ र अफगानिस्तान ४.७९ एमबीपीएससहित १५०औँ स्थानमा परेका छन्। सार्क सदस्य भए पनि भुटान भने उक्त वरीयतामा समावेश छैन।
विश्वव्यापी वरीयतामा भने सिङ्गापुर ४१६.१० एमबीपीएससहित शीर्ष स्थानमा रहँदा संयुक्त अरब इमिरेट्स (यूएई) ३८७.४१ एमबीपीएसका साथ दोस्रो र फ्रान्स ३४८.०२ एमबीपीएसका साथ तेस्रो स्थानमा रहेका छन्। नेपालमा इन्टरनेट गतिको यो सुधारको प्रमुख कारण ‘लास्ट माइल’ सम्म फाइबर प्रविधिको व्यापक विस्तार रहेको सरोकारवालाहरू बताउँछन्। नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार नेपालमा अधिकांश सेवा प्रदायकले गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपोन) प्रविधिमार्फत सेवा दिइरहेका छन्, जसले घरसम्मै उच्च गतिको इन्टरनेट पुर्याउन सक्षम बनाएको छ।
उनका अनुसार अन्य दक्षिण एसियाली मुलुकहरूमा अझै पनि एडीएसएल लगायतका पुराना प्रविधि प्रयोग भइरहेका छन्, जबकि नेपालमा शतप्रतिशत फाइबरमा आधारित संरचना विस्तार भइरहेकाले गति उल्लेखनीय रूपमा सुधारिएको हो। साथै, उपभोक्ताको बढ्दो मागका कारण सेवा प्रदायकहरूले ५० एमबीपीएसभन्दा कम क्षमताको प्याकेज बिक्री गर्न क्रमशः छाड्दै गएका छन्।
ओकलाले सन् २००६ देखि विश्वभर इन्टरनेटको गति र गुणस्तर मापन गर्दै आएको छ। यसको ‘स्पिडटेस्ट’ प्लेटफर्ममार्फत दैनिक लाखौं प्रयोगकर्ताबाट प्राप्त वास्तविक अनुभवका आधारमा वरीयता निर्धारण गरिन्छ। यसले डाउनलोड र अपलोड स्पिडका साथै भिडियो स्ट्रिमिङ, गेमिङका लागि आवश्यक ‘लेटेन्सी’ र भिडियो कन्फरेन्सिङ क्षमतासमेत विश्लेषण गर्ने भएकाले यसको तथ्यांकलाई विश्वसनीय मानिन्छ।
नेपालमा पछिल्ला वर्षहरूमा इन्टरनेट पूर्वाधारमा भएको लगानी, फाइबर नेटवर्क विस्तार र उच्च ब्यान्डविथ प्रयोगको प्रवृत्तिले देशलाई डिजिटल रूपान्तरणतर्फ अगाडि बढाइरहेको संकेत यस प्रतिवेदनले गरेको छ।

