
अपराध कथामा ‘मुक्तिपुर’ चलचित्र बन्ने, शीर्ष भूमिकामा नाजिर हुसेन र गौरव पहारी



काठमाडौं । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ । मंगलबार यो फिल्मको शुभसाइत पूजासहित छायांकन थालिएको छ । सुनिल पाण्डेले निर्देशन गर्ने यो फिल्मलाई साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीले मिलेर निर्माण गर्न लागेका हुन् । केही छोटा र वृत्तचित्र फिल्ममा अनुभव बटुलेका पाण्डेको यो डेब्यू निर्देशकीय प्रोजेक्ट हुनेछ ।
दशकदेखि फिल्म अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनि विधामा पठनपाठन गर्दै आएको एभरेष्ट फिल्म एकेडेमीले पहिलोपटक यसमार्फत फिल्म निर्माण थालेको हो । विजय राजवंशी र रोशन पासवान निर्माताको रुपमा हुनेछन् । क्राइम जनरामा बन्ने फिल्मले बदलाको कथा पेश गर्नेछ ।

‘एक पात्रको जीवनमा हुने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले भन्नेछ’ निर्देशक पाण्डेले भने । नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, आकृति बुढाथोकीले अभिनय गर्दैछन् । अभिनेता हुसेनले यो फिल्म आफ्नो करिअरमा महत्वपूर्ण हुने बताए ।
‘हरेक चलचित्र मेरो लागि नयाँ होस् भन्ने चाहन्छु, उनले भने, ‘यो चलचित्रले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकलाई पस्किनेछ ।’ म्युजिक भिडियोमा अभिनय अनुभव बटुलेकी बुढाथोकीले फिल्मलाई लिएर उत्साहित रहेको बताइन् ।
घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकास खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरीको पनि अभिनय हुनेछ । ४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।


