कार्यभार थाप्दै प्राधिकरणका कामु अध्यक्ष दहाल, ईडी र अध्यक्ष नियुक्ती प्राथमिकतामा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष दहाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दहाललाई हिजो जिम्मेवारी दिएको हो ।
अध्यक्ष दहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य समेत छन् भने कार्यभार सम्हादै प्राधिकरणका अध्यक्ष दहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिए ।
अध्यक्ष दहालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आफूले सकेसम्म दीर्घकालिन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गरे ।
अध्यक्ष दहालले भने, “बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकतिको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।”
यसअघि, अध्यक्ष दहाल प्राधिकरणमा आउँदा उनलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।