
२०६४ सालको चुनावमा आफूले बनाएको रेकर्ड तोड्न डा. बाबुराम भट्टराईको चुनौति



काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि आज देशभर मतदान हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचन सम्झिएका छन् । सो निर्वाचनमा उनी किर्तिमानी मतसहित विजयी भएका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले आफूले त्यसबेला राखेको किर्तिमान तोड्न घुमाउरो चुनौति दिएका छन् ।
उनी लेख्छन्, ‘गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैं आभारी छु र रहिरहनेछु । मेरो नउाँमा गोरखा ३ ले लेखेको चुनावी रेकर्ड (खसेको मतको करिब ८३ प्रतिशत) कसैले छिटो तोडेमा खुशी हुनेछु।’
माओवादी शान्ति प्रक्रियामा आएपश्चात भएको संविधानसभाको पहिलो निर्वाचनमा भट्टराईले अत्यधिक मतका साथ जित हासिल गरेका थिए। गोरखा २ मा उनलाई ४६ हजार २ सय ७२ मत खस्दा कांग्रेसका प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेलाई ६ हजार १ सय ७१ मत आएको थियो । त्यसबेला उनीहरुको मतान्तर थियो, ४० हजार १०१ । त्यस आमनिर्वाचनमा उनी देशभरमै सर्वाधिक मतान्तरले विजयी हुने सांसद बने ।
भट्टराईले राखेको सर्वाधिक मतान्तरको रेकर्ड भने तोडिइसकेको छ । चितवन २ मा भएको उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेले उनको रेकर्ड ब्रेक गरेका हुन् । लामिछानेले ५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत मात्र पाएका थिए । उनीहरुबीच ४२ हजार ९६२ मतको अन्तर थियो ।
भट्टराईले खसेको मतको प्रतिशतका आधारमा आफ्नो रेकर्ड तोड्न चुनौति दिएका हुन् । बाबुरामले खसेको मतको ८३ प्रतिशत ल्याएका थिए भने रविले खसेको मतको ७५ प्रतिशत ल्याएका थिए । यसरी प्रतिशतका आधारमा अझै भट्टराईको रेकर्ड तोडिएको छैन ।

