
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान



स्याङ्जा । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार भावुक र प्रेरणादायी दृश्य देखियो । शोकको समयमा पनि नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै एकैघरका दुई मतदाता मतदानमा सहभागी भए । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले बिहीबार अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मत खसालेका हुन् ।
पारिवारिक शोकका बीच पनि उनीहरू मतदान केन्द्रमा पुग्दा त्यहाँ उपस्थित अन्य मतदाताको ध्यान खिचेको थियो । परिवारमा शोक परेकै अवस्थामा पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुन उनीहरू मतदान केन्द्र पुगेका थिए ।

