
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’



झापा । ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य फोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नेलगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकडभिट्टा रहेको छ ।
उनका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रमअन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उहाँले जानकारी दिनुभयो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।
पर्यटन कार्यालय, काँकडभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९, धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उनको भनाइ छ ।
तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् ।
आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू–भागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।

