
साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्टकाे स्वागत, विदाइ तथा पुरस्कार वितरण समारोह सम्पन्न



काठमाडौं । साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौले बुधबार राजधानीमा स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध उक्त कलेजले विश्वविद्यालयका डिन डा सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम बिहानबाट सुरु भई दिनभर चलेको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका डिन डा सन्देश दास श्रेष्ठ, विशेष अतिथि डा राजेश केसी, सञ्चालक समिति तथा प्राध्यापकहरूलाई आसन ग्रहण गराइ सम्मान गरिएको थियो। राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि, विशेष अतिथि तथा क्याम्पस प्रमुख इन्जिनियर दीपक धामीलगायतले संयुक्त रूपमा उदघाटन गरिएको थियो। कार्यक्रम संयोजक नानी मैया डंगोलले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक र अतिरिक्त क्रियाकलापमा कलेजको प्रतिबद्धता दोहोर्याइन्।
स्वागत सत्रमा बीएचएम २०२४ ब्याचका विद्यार्थीहरू खुसी बिश्वकर्मा, रबिशा श्रेष्ठ, सोनिया तामाङ र प्रतीक्षा दवाडीले “गुराँस फुल्दा” गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी विविए २०२४ ब्याचका रोहन श्रेष्ठले नयाँ विद्यार्थीलाई स्वागत सम्बोधन गरेका थिए। विविए २०२५ ब्याचका सुशील बास्तोलाले “गल्ती हजार हुन्छन्” गीत प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक माहोल दिएका थिए।
कार्यक्रमको अर्काे चरणको विदाइ सत्रमा विविए २०२२ ब्याचका विद्यार्थीहरूले “पिरती बस्यो” गीतमा नृत्य प्रस्तुत गरेका थिए भने पास आउट विद्यार्थीहरूलाई ‘टोकन अफ लभ’ वितरण गरिएको थियो। साथै विएचएम २०२४ ब्याचका निरज गुरुङको सांगीतिक प्रस्तुति र विविए २०२१ ब्याचको सांस्कृतिक नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। अर्काे चरण अन्तर्गत वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। शैक्षिक उत्कृष्टता, साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी विविए गोल्ड अवार्ड, वर्ष उत्कृष्ट शिक्षक, वर्ष उत्कृष्ट विद्यार्थी लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। प्रमुख अतिथि, विशेष अतिथि तथा क्याम्पस प्रमुखले विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमको अन्तिम चरणमा ‘फ्रेसर शो’ आयोजना गरिएको थियो। विविए २०२५ ब्याचका विद्यार्थीहरूको सांस्कृतिक नृत्य, विएचएम २०२३ ब्याचको अंग्रेजी गीत प्रस्तुति तथा विविए २०२५ ब्याचको “काले केटा” गीतमा नृत्यले समापन सत्रलाई उत्साहपूर्ण बनाएको थियो। साथै मिस्टर तथा मिस फ्रेसर–२०८२ का लागि ट्यालेन्ट शो, प्रश्नोत्तर र विभिन्न चरणहरू सम्पन्न गरिएको आयोजकले जनाएको छ। शैक्षिक, सांस्कृतिक तथा प्रतिभा प्रदर्शनलाई एकै मंचमा समेटिएको उक्त कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको कलेज प्रशासनले जनाएको छ।

