
गरिमा म्युचुअल फन्डको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनमा आउँदै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति



काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत पहिलो खुलामुखी योजना (ओपन–एन्डेड स्किम) ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक (फन्ड स्पोन्सर) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (फन्ड म्यानेजर) रहेको उक्त योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहनेछ।
प्रारम्भिक रूपमा ५० करोड रुपैयाँ बराबरको इकाई सार्वजनिक निष्कासन गरिनेछ। प्रति इकाई १० रुपैयाँ दरमा ५ करोड इकाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यो योजना विकास बैंक प्रवर्द्धक रहेको पहिलो खुलामुखी योजना भएको दाबी गरिएको छ। यसअघि गरिमा म्युचुअल फन्डले १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष ‘गरिमा समृद्धि योजना’ सार्वजनिक निष्कासन गरी हाल सञ्चालनमा ल्याइसकेको छ। नयाँ खुलामुखी योजनामार्फत लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

