निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दावी छ । त्यो अवस्थामा अर्थमन्त्री पौडेलले एक साता भित्र निर्माण व्यवसायीको भुक्तानी फरछ्यौट हुने बताए ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
‘आज शनिबार, बिदा भइहाल्यौ । तपार्ईहरुको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, भोली (आइबार) जानुस, भोली नै भुुक्तानी हुनेछ । भोली भएन भने पर्सि (सोमबार) त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ । त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं,’ उनले भने, ‘तर, बक्यौता कति हो भन्नेमा अन्योल छ । मेरो तथ्यांक एउटा छ । तपाईहरुले भन्ने गरेको बक्यौता रकम फरक छ । बक्यौता कहाँ कति हो, निरक्यौल गर्नूस । भुक्तानीको समस्या हुदैन ।’
यस्तै, निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने बिषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ ।
यस्तै, सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बिषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौ । हामी एउटै ढुंगामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरु आफुलाई सरकार भनेर बझ्नुस । हामी आफुलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’