
३३औँ त्रिवेणी कप डिसहोम गो र एक्सन स्पोर्टमा प्रत्यक्ष प्रसारण हुने



काठमाडौं । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुन गइरहेको ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ । सम्पूर्ण खेलहरू कप डिसहोम गो एप र एक्सन स्पोट टेलिभिजन च्यानल मार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिने भएको छ ।
यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकले बताएको छ ।
बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ ।
यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मस्र्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन् ।
सम्पूर्ण खेलप्रेमी दर्शकहरुले नि:शुल्क हेर्न पउने छन् ।

