
लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते साधारणसभा गर्दै नेशनल लघुवित्त



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको १२ औँ वार्षिक साधारणसभा पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ ।
बोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० हुने गरी प्रिमियममा एफपीओ जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि पुस ३० गतेसम्म सेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने भएको छ ।

