
सिद्धार्थ क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न



काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा, डिजिटल वित्त तथा कृत्रिम बुद्धिमत्ता (एआई), लगानी सम्बन्धी जोखिम र विद्युतीय माध्यमहरुबाट हुने ठगी न्यूनीकरणलाई केन्द्रमा राख्दै देशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू संचालन गरेको छ ।
सोहि अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू र काठमाडौं क्रिकेट एकेडेमी (केसिए) का प्रशिक्षार्थीहरू, बिराटनगरको साउथ एसियन स्कुल अफ होटेल म्यानेजमेन्टका विद्यार्थीहरू, नेपालगञ्जको नेपाल मेडिकल एसोसियसन डाक्टरहरु तथा बुटवलको एक्सिस कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लगानी सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा विवेकपूर्ण लगानी, जोखिम व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग तथा लगानी सम्बन्धी ठगीबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो ।
विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष लगानीकर्ताहरूलाई सचेत, सुरक्षित र दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले विश्वभर मनाइन्छ । सिद्धार्थ क्यापिटलले लगानीकर्ता सशक्तीकरणमा निरन्तर योगदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

