लघुबीमाको व्यावसायीक लिमिट अस्पष्ट, ठूला कम्पनीले सोधे–लघुबीमा भनेको के हो ?
काठमाडौं । पछिल्लो समय इजाजत अनुमति पत्र (लाइसेन्स) पाएर संचालनमा आएका लघुबीमा कम्पनीहरुले लघुको दायराभन्दा बढी रकमका व्यवसायमा संलग्न हुने व्यवस्था लागू भएसँगै बीमा क्षेत्रमा प्रश्न उठ्न थालेको छ । न्यून आए स्तर भएका नागरिकहरुको थोरै (प्रिमियम) बीमाशूल्कमा साना जोखिम कभर गर्ने भन्दै पाँच लाख रुपैयाँ बीमांक तोकिए पनि उनीहरुले गर्ने केही व्यवसाय भने सो लिमिटभन्दा बढी रहेको पाइएको हो । यस्तो समस्या मुख्य गरेर लघु जीवन बीमा कम्पनीहरुमा देखिएको हो ।
सो व्यवस्थाका बारेमा लघु बीमा कम्पनीहरुले किन ठूलो व्यवसाय गर्न तम्सिए भनेर नभई उल्टै नेपाल बीमा प्राधिकरणले नै लघु बीमा कम्पनीहरुलाई ठूलो व्यवसायमा किन जोड्यो भन्ने सवाल निकै गम्भिर देखिने सरोकारवालाहरु बताउँछन् ।
नेपाली जीवन बीमा क्षेत्रमा दुई दशक बिताएको उच्च स्रोत भन्छ,‘हामीले लघुबीमाले गरेको व्यावसाय बिग्रीयोस भन्ने हेतुले बोलेको होइन । गलत अर्थ नलागोस् । यहाँहरुलाई अध्ययनको विषय पनि होला, अहिले लघु बीमा कम्पनीहरुले बेचि रहेको प्रोडक्टको मोडालिटीको बारेमा एकपटक तपाईले हेर्नुस् न । माइक्रोले आधिकारीक रेटमा बीमा गरेका छैनन् म्यानुपुलेसन गरेको पनि भेटिएको छ ।’
स्रोतका अनुसार माइक्रो क्रेडिटको बीमाका लागि १० लाख रुपैयाँ तयार पारेको प्रोडक्टले भोलिका दिनमा बीमितलाई मात्र नभई उनीहरु आफैलाई व्याकफायर गर्ने अवस्था छ । किनभने, उनीहरुले हाल वैदेशिक रोजगारीमा जानेको १४ लाख रुपैयाँ बराबरसम्मको बीमा गर्दै आएका छन् । यता त्यस्ता ऋणीहरु व्यक्तीगत नभई संस्थागत भएकाले रकम धेरै हुने गरेको लघु बीमा कम्पनीहरुको जवाफ हुने गरेको छ । तर, लघुबीमा कम्पनीको बीमांक रकम नै ५ लाख रुपैयाँ कानुनी रुपमा तोकिसकेको अवस्थामा उनीहरुको लिमिट बढाउँदा ठूला बीमा कम्पनीहरुले आफूहरुलाई व्यवासायीक जोखिम पर्ला भन्नु त हालको बजारमा हास्यास्पद कुरा मात्र हुने भन्दै बरु उल्टै लघु बीमा कम्पनीहरुले आफ्नो कार्यप्रकृति, दायरा र कार्यसम्पादनलाई मूल्यांकन गर्नु पर्ने जीवन बीमाका अनुभविहरुले सुझाएका छन् ।
प्रलोभन र प्रचार चलाउँदा, लघुबीमा कम्पनीहरुले आफ्नो व्यवसायीक लिमिट बिर्सेर ठूला व्यवसायमा केन्द्रित हुँदा त्यस्ता विषयले बीमा बजारमा बीमितको विश्वास माथि नै धक्का पर्ने स्रोतको अनुभव बताउँछ ।
अनुभवि स्रोतले विगतमा लघु बीमा कम्पनीहरुले स साना आय स्तर भएका न्युन वर्गहरुको बीमा गर्न इजाजत पत्र लिए पनि उनीहरुले आफ्नो मुख्य कार्य क्षेत्र भुलेर शहरमा केन्द्रित भइ रहेको बेलामा यस्तो आपत्तीजनक र चिन्ताको विषयमा टिप्पणी गर्नु पर्ने भन्दै सो सूचनाको प्रभाव खुलाएको बताएको हो ।
तर, प्रोडक्टमा देखिएका कैफियतबाट पर भाग्ने भन्दा पनि आफ्नो जोखिमभार, कार्य प्रकृती, बिक्री गरेका बीमा प्रोडक्ट र कम्पनीले दिन्छु भनेको भन्दा पनि बीमितले के पाउँछन् भन्ने विषय आगामी दिनमा ठूलो खोजीको विषय हुने अनुभवि स्रोतको आँकलन छ ।
सबैभन्दा पहिला लघु बीमा भनेको के हो ? र यो कुन ठाउँमा कस्तो प्रकृतिको व्यवसाय गर्न आएको हो ? भन्ने प्रश्न सोध्नु पर्ने बेला आएको अनुभवी स्रोत बताउँछ ।
यद्यपी आफ्नो संचालन वर्षमा धेरै र जेठो देखाउँनकालागि नै आर्थिक वर्षको अन्तिममा आएर लघु बीमाको लाइसेन्स लिन हानाथाप गरेका कम्पनीहरुलाई बेला बेलामा विभिन्न आरोप लाग्ने गरेकै छ । अनुभवि बीमा कम्पनीहरुले उठाएका महत्वपूर्ण विषयहरुलाई लघु बीमाले कसरी सुधार गर्लान् त ? त्यो हेर्न भने केही समय धैर्य गर्नु पर्ने देखिन्छ ।