
सिप भएर घरमा बसेका महिलालाई उद्यम सिकाउने पक्षमा उपप्रमुख डंगोल



काठमाडौं । महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरुले अब खाली बस्नु नपर्ने बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगालले, महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने दाबी गरिन । उनले बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागले आयोजना गरेको महिला समूह, समित र सशक्तिकरण विषयक अन्तरक्रियामा उनले यस्तो सुनाएकी हुन्।
त्यस्तै, उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमूना कार्यक्रमले नतिजा प्रदान गर्न थालेको बताउँदै उनले महिला समूहहरुलाई पनि उद्यमी बनाउने आफ्नो लक्ष्य रहेको उनको धारणा छ । ‘घरमै बसे पनि हातमा केही न केही सिप हुन सक्छ । कसैलाई मिठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र भनेर नबस्नु ।’ उनले महिलाहरुलाई प्रोत्साहित गर्दै भनिन।
यता, महिला समितिबाट महिलाहरुको अवस्था सुविधा, स्तर, पहुँच, समय बचत, अवस्थिति स्वाभिमान, मर्यादा, आवाज र प्रभाव र अभिकार्य अग्रता, समर्पण र समाधानमा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।
महानगरपालिकामा सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । २०७८ सालमा सबै वडामा समुह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समिति अन्तर्गत ५/५ जना रहेका अरु ६ सय वटा समूह छन् ।
समूहका सदस्यहरुले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ ।
महानगरभित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् । समूहहरुको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सिपमुलक तालिमबाट उनीहरु आय आर्जन समेत गर्छन् । यसरी गठन गरिएका समूहमा आवद्ध भएपछि महिलाहरु घर बाहिर आउन सक्छन् । महिला सशक्तिकरणको पहिलो पाइला यही नै हो ।
साथै, सोही कार्यक्रममा सहभागी महिलाहरुले महानगरपालिकाले सहयोग गरेको अवस्थामा आफूहरु व्यवसाय दर्ता नै गरेर उद्यम सञ्चालन गर्न सक्षम भएको बताएका छन् । ‘भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान किन्नै नपर्ने भएको छ । आफैँ उत्पादन गर्छौँ । हामी अन्य समितिमा गएर पनि अनुभव आदान प्रदान गर्छौँ । यसबाट हामी त उत्साहित छौँ ।’ कार्यक्रममा सुनाइयो ।

