
स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी हमिद, रौतहट गुजरा नगरपालिका–२ बस्ने ७३ वर्षीय चन्द्रमान योन्जन र चीनियाँ नागरिक ३२ वर्षीय स्योङ चाङ–ये रहेका छन्।
प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा उनीहरू सवार गाडी चेकजाँच गर्ने क्रममा उक्त रकम सहित नियन्त्रणमा लिएको हो। बा.प्र ०१–०३१ च ५८०४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीपट्टि राखिएको टायरभित्र लुकाई छिपाई राखिएको अवस्थामा नगद फेला पारेको हो।
प्रहरीका अनुसार उक्त गाडी आदिल हमिदले चलाएका थिए भने आमी, चन्द्रमान र चीनियाँ नागरिक स्योङ सोही गाडीभित्र सवार थिए। उनीहरूलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।


