
पियोर इनर्जीको खुद नाफा ७१% ले वृद्धि

काठमाडौं । पियोर इनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा, कुल आम्दानी लगायतका वित्तीय सूचांकमा बृद्धि भएको हो ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीले ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनी आफ्नो खर्च नियन्त्रण गर्न भने सफल देखिएको छ । अघिल्लो आवमा ६ करोड ८ लाख कुल खर्च गरेको कम्पनीले चालु आवमा भने ५ करोड ६२ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख र कुल चालु दायित्व १३ करोड ९२ लाख रहेको छ ।
कम्पनीको ईपीएस ४.५० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०१.६१ रुपैयाँ र तरलता अनुपात ०.५१ प्रतिश कायम भएको छ ।


