


विश्व बैंकको २९ करोड ४६ लाख अनुदानमा सडक स्तरोन्नति गरिँदै




कञ्चनपुर । लालझाडी गाउँपालिकामा विश्व बैंकको २९ करोड ४६ लाख ४३ हजार ७२३ रुपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ ।
प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।
उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । ‘सडक कालोपत्र कार्यका लागि डुकुचु÷अनक÷जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ’, अध्यक्ष रानाले भने ।
सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्रे भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी–कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ ।
प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।