


कुमारी बैंक र GIZ नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता




काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाअन्तर्गत एमओयूमा हस्ताक्षर भएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरू लाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पर्याउने विश्वास गरिएको छ ।
SET4NPL परियोजना GIZ nepal ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।
यो परियोजना मिटिगेशन एक्सन फ्यासिलिटी (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भईरहेको छ र यस कार्यक्रमले करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउनेछ ।
आर्थिक सिमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । SET4NPL परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन्स, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले तथा ओपन लूप ई–टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सब्सिडी) को व्यवस्था गर्नेछ जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।