


सम्पत्ति शुद्धीकरणको अनुसन्धान अर्थमन्त्री खनाल र ऊर्जामन्त्री घिसिङबाट सुरु गर्नुपर्नेमा महेश बस्नेत




काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलामान घिसिङबाट सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्नुपर्ने बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पूर्वसचिव समेत रहेका खनाल अहिले मन्त्री रहेको र उनले कुनै सुविधा नलिने उदघोष गरेका छन् । ‘पूर्वसचिवले मन्त्री बस्ने खालको घर, गाडी कहाँबाट जोडनु भयो ? अनुसन्धान उहाँबाट नै सुरु गरौ’ उनले भने । पत्रकार सम्मेलनमा बस्नेतले कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेकोले उनीमाथि पनि छानबिन गर्नुपर्ने बताए । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे । घिसिङले आर्जन गरेको सम्पत्ति आफन्तको नाममा लगानी गरेको बस्नेतले बताए । भाइको लामा कन्ट्रक्सन रहेको र गत साता आएको बाढीमा उक्त कन्ट्रक्सनले बनाएको सडकको अनुगमन गर्न मन्त्री घिसिङ पुगेको बस्नेतको दाबी छ ।