रणनीतिक विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले भन्यो:साइबर क्राइममा युवाहरु बढे
काठमाडौं । बैंक वित्तीय क्षेत्रको मुख्य नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पछिल्लो समय शंकास्पद कारोबारमा युवाको आवद्धता बढेको खुलासा गरेको हो । नेपाल सरकारलाई विषेश तथ्य प्रदान गर्दै राष्ट्र बैंकले ‘स्ट्रयाटेजिक एनलाइसिस रिपोर्ट–२०२४’ बाट त्यस्तो तथ्य खुलाएको हो ।
अंग्रेजी महिना सन् २०२४ को ५ महिनामा आधारित साइबर क्राइमको खोजीमा १८देखि २४ वर्ष उमेर हाराहारीका युवाहरुले ठगीमा संलग्न भएको देखिएको छ। साइबर क्राइमको विशेषता र सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने विधिको चर्चा गर्दै त्यस्ता ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीको गलत प्रयोग भएको विश्लेषण गरिएको छ ।
यता शंकास्पद खाताबाट ३ महिनाभित्र शंकास्पद कारोबार भएको देखिएको प्रतिवेदनको ठहर छ। गिफ्ट पार्सल फ्रड, सोसल मिडिया इम्प्रेसोनेसन, फेक अनलाइन बिजनेस प्लेटफर्म, ओटीपी फ्रड, लटरी फ्रडलगायतका तरिकालाई मुख्य आधार बनाएर ठगी भइरहेको र त्यसबाट सचेत रहन राष्ट्र बैंकले सुझाएको हो ।
त्यस्ता ठगीबाट जोगाउन समेत आश्वयक प्रक्रिया चालिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०, १ को खण्ड झ मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिसमेतका विवरण संलग्न गरी आफ्नो कामकारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकबाट नेपाल सरकारलाई वर्षोनी बुझाउँनु पर्छ । यसपाली सोही इकाइले साइबर क्राइमका बारेमा खोजेको र अधिकांश युवाहरुको संलग्नता रहेको समेत तथ्यगत रुपमा ठहर गरेको हो ।