

अन्तर्राष्ट्रिय कार्डमार्फत नेपालमा पहिलो पटक राजस्व भुक्तानी सुरु




काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा अन्तरआबद्धताको सुभारम्भ गरेको छ । आज अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले कार्डबाट रकम तिर्न मिल्ने प्रणाली सुरुवात गरेका हुन् ।
राजस्व व्यवस्थापन सूचना प्रणालीमा इन्टरनेशनल कार्ड नेटर्वकको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ ।
यसले सेवालाई कागजरहित र कर्मचारीलाई नभेटी सेवा पाउन सक्ने तथा २४ सै घण्टा, सातै दिन सेवा प्रवाह हुने जनाइएको छ । राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन जनाइएको छ ।
भुक्तानी प्रणालीबाट भिसा थप गर्दा मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायत कार्डबाटै पैसा तिर्न सकिनेछ । यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सुरु भएको छ ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरूमा पनि विस्तार हुँदै जाने जनाईएको छ ।