निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण शंकास्पद:प्रोभिजन नगरी नाफा देखाएको आरोप
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले हालसालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमास (तीन महिना) को रिपोर्ट शंकास्पद रहेको सरोकारवालाहरुले बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुले एकातर्फ यसपालिको वर्षामा परेको क्षतीको दाबी–भुक्तानी तिर्न आनकानी गरिरहेको बेलामा र मोटो रकमको क्षती तिरि रहेको बेलामा केही कम्पनीले निकै स्वस्थ (नाफावाला) व्यालेन्सिट प्रस्तुत गर्नुले पनि शंका उठ्नु अर्थपूर्ण देखिन्छ ।
एक निर्जीवन बीमा कम्पनीका उच्च अधिकारीले बीमा दर्पण डटकमसँग भने,‘गत आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट र यसपालिको रिर्पोट तपाईहरुले हेर्नु होला । त्यस्तो रिपोर्टमा लेखिएका तथ्याकं तपाईहरुलाई राम्रो खोजीको विषयमा पनि हुनसक्छ । हामी आफैले हेर्दा चाही कस्तो देखियो भने अस्ति बाढीबाट त्यति धेरै क्षतीका क्लेमका क्लेम आयो । कम्पनीहरुले पनि मोटो रकमको दाबी–भुक्तानी तिरेका छन् । यस्तो अवस्थामा अब नाफा चाही कसरी बढ्छ भन्ने विषय त पक्कै खोजीको विषय बनिहाल्यो नि ।’
उनले बीमा कम्पनीहरुले आफ्ना खर्चको प्रोभिजन नगराई सिधैं नाफा देखाउँने ध्याउन्नमा लाग्दा यस्तो नजिता देखिएको र त्यस्तो नतिजा सहि हुने सम्भावना अत्यन्तै न्यून हुने बताए । ती अधिकारीले थपे,‘होइन, यो त खुलम खुल्ला छ त । यो त सिधैं एक किसिमको फाइनायन्सियल चिटिङ भएन त ?’ उनले सो विषयमा प्रश्न उठाउन निकै जायज देखिएकाले मात्रै यस्तो विषय बाहिर ल्याएको पनि बताए ।
यता, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हेर्दा निर्जीवन बीमा कम्पनीहरु १६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । उनीहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने १ अर्ब १९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसरी हेर्दा कूल निर्जीवन बीमा बजार डाउनट्रेण्डमा त छँदै छ यस्तो अवस्थामा पनि नाफा आर्जन गरेका कम्पनीहरुलाई प्रोभिजन नगरेको आरोप लाग्न सुरु भएको हो ।
यसपालि निर्जीवन बीमा कम्पनीहरुलाई अस्वभाविक वर्षाका कारण पुगेको क्षतीका कारण १० अर्ब रुपैयाँ भन्दा बढी रकमको दाबी परेको जग जाहेर रहेको बेलामा प्रतिस्पर्धी कम्पनीहरुले प्रोभिजनलाई लुप होल बनाएर नाफा आर्जन गर्ने ठाउँ अधिक रहेको आरोप लगाएका हुन् । यद्यपी सो विषयमा बीमाका प्राविधिकहरुले प्रस्ट पार्नेछन् भन्ने पनि हामीले विश्वास लिएका छौं ।