

सिन्धुपाल्चोकमा रहेको १०२ मेगावाटको मध्य–भोटेकोसीको उत्पादन परीक्षण सफल




काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिट ३४ मेगावाटको उत्पादन परीक्षण भएको हो ।
प्रवर्द्धक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सोमबारदेखि पहिलो युनिटको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । पहिलो युनिटको सफल परीक्षण भएसँगै अब दोस्रो र तेस्रो युनिट पनि परीक्षण उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । सबै परीक्षण सफल भए असोजको पहिलो सातादेखि नै पूर्ण क्षमतामा आयोजनाबाट १५ दिनको परीक्षण उत्पादन सुरु हुने छ । त्यसमा कुनै समस्या नआए असोजको दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ ।
आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको छ । आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।