

साउनमा १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात




झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजार रुपैयाँले बढेको उनले बताए ।
पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाख रुपैयाँको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाख रुपैयाँको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, २० करोड तीन लाख रुपैयाँको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाख रुपैयाँको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख रुपैयाँ मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।