

विमानस्थलको आन्तरिक टर्मिनलमा विशिष्ट व्यक्तीलाई आधुनिक सेवा




काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन भवनमा अब विशिष्ट व्यक्तिले आधुनिक सेवा पाउने भएका छन् । आन्तरिक टर्मिनल भवनमा नवनिर्मित विशिष्ट कक्षको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री पाण्डेले विशिष्ट कक्षको निर्माणसँगै विमानस्थलको भीड नियन्त्रण हुने र सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । उनले विमानस्थलको भीड व्यवस्थापनका साथै सुरक्षालाई ध्यानमा राखेर राजनीतिक तथा प्रशासनिक व्यक्तिका लागि छुट्टै आवागमन कक्षको व्यवस्था गरिएको उल्लेख गरे ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार हवाई सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको मौजुदा विशिष्ट कक्षको सट्टामा सञ्चालनमा ल्याइएको नयाँ विशिष्ट कक्षले सेवा, सुविधा र सुरक्षा तीनै पक्षमा गुणात्मक सुधारसँगै विशिष्ट पदाधिकारीहरूको स्वागत तथा बिदाइलाई थप मर्यादित, व्यवस्थित र सहज बनाउनेछ ।
महाप्रबन्धक पाण्डेले नवीन संरचना र सुरक्षित वातावरणसहितको विशिष्ट कक्षबाट नेपाल सरकारद्वारा तोकिएका विशिष्ट पदाधिकारीहरूको आवागमन थप मर्यादित, व्यवस्थित र सहज हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि विमानस्थलको सेवा प्रवाहलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मौजुदा कक्षमा सुरक्षाका दृष्टिले देखिएका चुनौतीलाई मध्यनजर गर्दै नयाँ विशिष्ट कक्ष सञ्चालनमा ल्याइएको हो । यसले सेवा, सुविधा र व्यवस्थापनमा गुणात्मक सुधार ल्याउने विमानस्थलको अपेक्षा छ । त्यसअवसरमा मन्त्रालयका उच्च अधिकारीहरू, विमानस्थल व्यवस्थापन प्रतिनिधिहरू तथा सुरक्षासम्बन्धी निकायका प्रतिनिधिको उपस्थिति थियो ।