

राज्यव्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने




काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उमेदवारी परेको छ । सो पदमा मंगलबार अपराह्न ४ बजेसम्म निर्धारित समयमा न्यौपानेको मात्र उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए।
सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताका निम्ति मंगलबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो । न्यौपानेको उमेदवारी दिउँसो ३ बजेर ४ मिनेटमा दर्ता गरिएको थियो ।
कांग्रेस सांसद रामहरि खतिवडाले न्यौपानेलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले उक्त प्रस्तावमा समर्थन जनाए ।
निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’मा गडबडी प्रकरणमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनपछि खतिवडाले साउन २७ गते सभापतिबाट राजीनामा दिएका थिए । नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका खतिवडाकै प्रस्तावमा न्यौपाने सभापति बन्ने निश्चित भएको छ ।
एकल उम्मेदवारी परे पनि औपचारिक रूपमा सभापति घोषणा हुन बाँकी छ । सभापति चुन्न बुधबार दिउँसो ३ बजे राज्यव्यवस्था समितिको बैठक बोलाइएको छ ।
बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । ‘भोलि दिउँसो ३ बजे समिति बैठक छ । भोलिको बैठकको एजेन्डा समितिको सभापतिको निर्वाचनको छ । न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट मंगलबारै राजीनामा दिएकी थिइन् ।