

बजारमा ठुलो करेक्सन, अब गिरावट कि बुल ?




काठमाडौँ । पछिल्ला दिनमा शेयर बजारमा ठुलो करेक्सन देखिएको छ । लगानीकर्ताहरूले नाफा बुक गर्न थालेपछि बजार घटेको हो ।
विश्लेषकहरूका अनुसार करेक्सनको समयमा उचित मूल्यमा शेयर खरिद गर्न सकेमा आगामी दिनमा मुनाफा लिन सहज हुन्छ । बजारमा करेक्सन भएर अघि बढेमा बुल ट्रेन्ड आउने विश्वास गरिएको छ । तर धेरै लगानीकर्ताले एकैपटक नाफा बुक गर्दा बजारमा आकस्मिक गिरावट आउने जोखिम पनि रहन्छ ।
विश्लेषकहरू भन्छन् दीर्घकालीन स्थायित्वका लागि बजारमा समय–समयमा करेक्सन हुनु आवश्यक छ। निरन्तर वृद्धि हुँदा साना लगानीकर्ताहरू लोभमा परेर जोखिममा पर्ने सम्भावना बढ्छ । बजार हावामा भरिएको बेलुनझैँ फुलेर चलेको अवस्थामा जबरजस्तीको वृद्धि दीर्घकालीन हितमा नहुने भएकाले ज्ञान नभएका साना लगानीकर्ताहरूले सचेत भएर मात्रै लगानी गर्नुपर्ने सुझाव दिइएको छ।
यसैबीच, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारमा आशावाद थपेको छ। लगानीकर्ताका दीर्घकालीन मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले धितो कर्जाको सीमा बढाउने, हकप्रद शेयरको प्रक्रिया सहज बनाउने, लघुवित्तको लाभांश वितरण नीति पुनरावलोकन गर्ने संकेतसहित तरलता व्यवस्थापनमा लचिलोपन देखाएको छ। यसले बजारमा दीर्घकालीन भरोसा बढाएको विश्लेषकहरूको भनाइ छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.९३ अकंले घटेरर २९५४.१४ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन विकास बैंक र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज विकास बैंक समूहको ३.३४ प्रतिशत र फाइनान्स समूहको २.८७ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, अन्य ९ उपसूचक समेत राताम्य छन् ।
बुधबार २३ कम्पनीकको शेयर मूल्य मात्रै बढेको छ भने २२६ कम्पनीको घटेको छ ।