

‘पर्यटन नीति २०८२’ सार्वजनिक




काठमाडौं । सरकारले ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सरकार नीतिमा नेपालको पर्यटन क्षेत्रमा गैरआवासीय नेपाली (एनआरएनए) लाई लगानी भित्र्याउनको लागि प्रोत्साहन गर्ने व्यवस्था गरेकाे छ ।
‘नेपालको पर्यटन प्रवर्धन गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोग, अवैतनिक महावाणिज्यदूत एवं वाणिज्यदूतहरूसँग सहकार्य गरिनेछ ।’ उक्त नीतिमा भनिएको छ, ‘विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीलाई पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ ।’
सरकारले १७ वर्षपछि पर्यटन नीति २०८२ जारी गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि पर्यटन नीति २०६५ जारी गरिएको थियो । यसैगरी, सरकारले पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालका विदेशस्थित कूटनीतिक नियोगका साथै गैरआवासीय नेपाली आबद्ध सङ्घसंस्थासँग सहकार्य गर्ने जनाएको छ ।
यसैगरी, विदेशस्थित विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीसँग रहेको पर्यटनसँग सम्बन्धित ज्ञान, सिप र प्रविधिको आदानप्रदान गरिने व्यवस्था पनि यस नीतिले गरेको छ । गैरआवासीय नेपालीका परिवारलाई लक्षित गरी पुर्ख्यौली थातथलो भ्रमण गर्नको लागि विशेष अभियान सञ्चालन गर्ने व्यवस्था पनि रहेको छ।
सरकारले पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रको समेत सहभागिता र सहलगानीमा विभिन्न पर्यटन मेला महोत्सव, गन्तव्य प्रवर्धनका गतिविधिहरू सञ्चालन गर्ने भएको छ। सम्बन्धित पर्यटन सेवा प्रवाह व्यवस्थापन प्रणालीलाई कुशल, प्रभावकारी र उत्तरदायी बनाउने सरकारको योजना रहेको छ।
सरकारले उक्त नीतिमा सम्बन्धित मन्त्रालय र निकायको समन्वयमा विदेशी पर्यटकले तिर्नुपर्ने सेवा शुल्क नेपाल राष्ट्र बैंकले तोकेका परिवर्त्य विदेशी मुद्रा वा नेपाली मुद्रामा लिने व्यवस्थाका साथै अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने भएको छ ।
पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्याङ्क तथा सूचना अद्यावधिक गरिने र पर्यटनसँग सम्बन्धित समग्र तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न ‘टुरिजम स्याटलाइट अकाउन्ट’ तयार गर्ने उक्त नीतिमा उल्लेख छ । यसैगरी, सरकारले पर्यटक आवागमनलाई सहज बनाउन भिसा प्रक्रियालाई सरलीकरण गर्ने र अनलाइन भिषा प्रदान गर्ने व्यवस्था पनि गर्ने जनाएको छ ।