

वाणिज्य बैंकद्धारा ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण सुरु गरेको अवस्था छ । सोही बैंकको काठमाडौंस्थित कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब दुई करोड ९० लाख रुपैयाँबराबरको अनुदान प्रदान गरिएको जनाइएको हो।
यता, सोही उपायहरूबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पुर्याउनेछ ।
यो अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालित छ ।
परियोजना युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को सहआर्थिक सहयोगमा सञ्चालन भइरहेको हो । यस कार्यक्रमले उच्च ऊर्जा बचत सम्भावना भएका उद्योगहरूलाई ऊर्जा दक्ष अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
कार्यक्रमअन्तर्गत स्थानीय ऊर्जा अडिटरद्वारा सिफारिस गरिएका उपायहरूको कार्यान्वयनका लागि लगानी लागतको आंशिक हिस्सा अनुदानस्वरूप प्रदान गरिन्छ।
यो परियोजनाले ऊर्जा दक्षता, मर्यादित श्रम अभ्यास तथा वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न प्राथमिकता दिँदै आएको छ । पहिलो चरणको अनुदान वितरणसँगै रिप–ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको छ । यसबाट नेपालका औद्योगिक क्षेत्रमा सफा तथा दक्ष प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अनुदान व्यवस्थाबाट नेपालमा दिगो औद्योगिक अभ्यासको प्रबरद्धनमा महत्वपूर्ण उपलब्धि हुने बताउँदै दिगो वित्तीय प्रणाली र हरित अर्थतन्त्रप्रतिको बैंकको प्रतिबद्धता जनाए।