

महानगर यातायातले आईपीओ जारी गर्ने




काठमाडौ । महानगर यातायातले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
महानगर यातायातका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले अब छिटै आईपीओ निष्कासन गर्ने तयारी रहेको बताए । उनले महानगर यातायात सर्वसाधारणको भएका कारण सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको बताए । उनले सबै संस्थापक सेयरधनीहरुको लगानी सुरक्षित रहेको जानकारी गराए ।
महानगर यातायातले आज १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एउटा बसको मूल्य १ करोड २७ लाख रुपैयाँ रहेको छ । महानगरको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहालले वातावरण मैत्री यातायात आजको आवश्यकता रहेको बताए ।
उनले पूर्वाधारका क्षेत्रमा नेपाल धेरै पछि रहेको र पछिल्लो समय सडक पुर्वाधारमा धेरै काम भएको समेत जानकारी गराए । उनले पुर्वदेखि पश्चिमसम्म समेटने गरी धेरै राजमार्ग निर्माण भईरहेको बताए ।
यातायातका क्षेत्र विकास भए पनि यसलाई व्यवस्थित गर्दैै लैजानु पर्ने उनको भनाइ छ । मन्त्री दाहालले नेपालमा विश्व स्तरिय गुणस्तर कायम गरेर सडक निर्माण कार्य भईरहेको जानकारी गराए ।
‘हाम्रा सडक विश्व स्तरिय, गुणस्तरीय सडक बन्नेछन्’ उनले भने ‘गुणस्तरमा कुनै कम्परमाईज गरिँदैन ।’