

उद्यमशीलताबाट समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री ओली




ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताए ।
महिला उद्यमी महासंघले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु ।’
उनले महिलाको सशक्तीकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गरे । ‘तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौं ।
विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।