

चेक लापरबाहीमा आक्रामक बन्यो राष्ट्र बैंक, एकाउण्टमा पैसा नपुगे सिधैं ब्ल्याकलिस्ट




काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक लापरबाही गर्ने प्रति केही कठोर बनेको छ । उसले चेक अनादरसम्बन्धी प्रावधानमा नयाँ स्टयाण्ड लिएको हो ।
आज राष्ट्र बैंकले जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै त्यस्तो प्रावधान ल्याइएको छ।
यसको मतलब एकाउण्टमा रकम मौज्दात नभएको अथवा पर्याप्त नभएको अवस्थामा कसैको चेक फिर्ता भएमा त्यस्ता सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्था कालोसूचीमा समावेश हुने भएको छ। राष्ट्र बैंकले विवरण मिलेको देखाउन सकिने अवस्थाबाहेक अन्य जुनसुकै कारणले चेक फिर्ता भएमा पनि कालोसूचीमा राख्ने व्यवस्था जारी गरेको हो।
आगामी दिनमा कालोसूचीमा समावेश गर्न चेकधारकले सम्बन्धित बैंक वा वित्तीय संस्थामा चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्र निवेदन दिनुपर्ने अवस्था सिर्जना भएको छ भने प्राप्त निवेदनपछि सम्बन्धित संस्थाले ५ कार्यदिनभित्र कर्जा सूचना केन्द्रलाई जानकारी दिनुपर्ने बताइएको छ। यता, चेक फिर्ता भए पनि त्यसको प्रमाणपत्र आवश्यक हुने र चेक जारीकर्तालाई रकम भुक्तानी गर्न ७ दिनको समय दिएर सूचना दिनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्थामा उल्लेख गरिएको छ।
अब कालोसूचीमा परेका व्यक्ति वा संस्थाले चेकको रकम भुक्तानी गरेमा वा मिलापत्रमार्फत समाधान गरेमा सम्बन्धित संस्था वा बैंकले तीन दिनभित्र कर्जा सूचना केन्द्रमा सिफारिस गर्न सक्नेछन् भने केन्द्रले प्राप्त सिफारिस ३ कार्य दिनभित्र अद्यावधिक गरी कालोसूचीबाट नाम हटाउने प्रक्रिया पुरा गर्नुपर्ने भएको छ।
साथै, चेकमा गरिने लापरबाहीमा सिधैं कारबाही गरिनेसम्मको अवस्था लागू हुने भएको छ । यससँगै केन्द्रिय बैंकले डण्डा चलाउने भएसँगै कारोबार गर्ने जो कोहीले उच्च सतर्कता एवम् अनुशासन पालन गर्ने ठूलो विश्वास समेत लिइएको छ ।