

नेपाल-भारत व्यापार तथा लगानीको प्रवद्र्धन गर्न निक्की र एसोचेमयूपीबीच समझदारी




काठमाडौं । नेपाल र भारतबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई सुदृढ बनाउनको लागि नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यका उद्योग वाणिज्य संघ (एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रि उत्तर प्रदेश, उत्तराखण्ड (एसोचेमयुपी) ले सोमबार एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनिल केसी र एसोचेमयूपीका अध्यक्ष ई डीपी सिंहले हस्ताक्षर गरेका हुन् । यस समझदारीपत्र दुबै चेम्बरबीच व्यापार, कृषि, लगानी तथा सीमापार व्यवसाय प्रवद्र्धनका क्षेत्रमा सहकार्य संस्थागत गर्ने उद्देश्यले गरिएको निक्कलिे जनाएको छ ।
समझदारीपत्रका अनुसार दुबै संस्थाले व्यापार प्रतिनिधिमण्डल आदानप्रदान, जानकारी साझा गर्ने, संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधि सँगसँगै अगाडि बढाउनेछन् । यसअन्तर्गत दुवै पक्षले एक अर्काको देशमा आयोजना हुने व्यापारिक भ्रमण, लगानी सम्मेलन, मेला तथा प्रदर्शनीमा व्यवसायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समझदारीअनुसार, निक्की नेपालमा एसोचेमयूपीको साझेदार संस्था हुनेछ भने भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा एसोचेमयूपीले साझेदारको रुपमा काम गर्नेछ । सम्झौतापछि निक्की अध्यक्ष सुनिल केसीले भने, ‘यो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण, र परस्पर आर्थिक चासो भएका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ प्रकाशन आदानप्रदान जस्ता पहलहरू पनि समेट्नेछ ।’
त्यस्तै, एसोचेमयूपीका अध्यक्ष ई डीपी सिंहले भने, ‘दुवै पक्षले व्यापार र लगानीसँग सम्बन्धित गैर गोप्य विवरण र प्रकाशनहरू नियमित रूपमा साझा गर्नेछन् ।’ सन् १९९३ मा प्रभाकर राणाको अगुवाइमा स्थापना भएको निक्की एक द्विपक्षीय, गैर नाफामुखी संस्था हो, जसले नेपाल र भारतबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धनमा काम गर्दै आएको छ। यसले ऊर्जा, पर्यटन, पूर्वाधार, उद्योग लगायतका क्षेत्रहरूमा रणनीतिक साझेदारी र क्षेत्रगत सहकार्यलाई सहज बनाउँदै आएको छ।
यो सम्झौता नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक अन्तरनिर्भरतालाई थप मजबुत बनाउने औपचारिक कदमको रुपमा रहेको छ। दुबै संस्थाले सीमापार व्यवसायले भोगिरहेका समस्याहरू समाधान गर्न र सम्भावनायुक्त क्षेत्रमा सहकार्य गर्न प्रतिबद्धता जनाएको पनि निक्कीको भनाइ छ ।