

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको पेन्सन रोक्किने




काठमाडौं । सरकारी कर्मचारीहरुलाई लक्षित गर्दै आउने आर्थिक वर्ष २०८२–८३ बाट पेन्सन योजना रोक्का हुने भएको छ । यस्तो योजना आगामी आर्थिकबाट नियुक्त हुने नयाँ कर्मचारीहरुको हकमा गरिएको हो ।
यता, सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने जनाएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन भन्दै सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।
साथै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको बताइएको हो।