

बीमा कम्पनी भन्छन् – बैंकको ब्याजले घाँटी निमोठो, यो सामान्य प्रक्रिया हो : बैंकर




काठमाडौं । कतिपय अवस्थामा बैंक र बीमालाई दाजु-भाईको पनि संज्ञा दिइन्छ । तर, कतिपय बेलामा बैंक भने नितान्त फरक र बीमा कम्पनी भनेको अर्कै प्रकृतिको संस्था हो भन्ने गरेको पनि सुनिन्छ ।
पछिल्लो समय नेपाली बीमा बजारमा कतिपय जीवन बीमकहरु आजित देखिएका छन् त्यो पनि बैंकको ब्याजदर चर्को भयो भनेर । त्यस्तो व्याजदर बीमा कम्पनीहरुले लामो समयका लागि मुद्धती निक्षेप (एफडी) मा राखेका बीमाशुल्कबाट पाइने व्याज घटेकोले जीवन बीमकहरुले त्यस्तो अभिव्यक्ती दिन सुरु गरेका हुन् ।
नदिउन पनि कसरी ? किनकी नेपालमा बीमा कम्पनीहरुको मुख्य आम्दानी स्रोत भनेकै त्यही बैंकको ब्याजदर छ भन्दा फरक नपर्ला ।
यता, बीमा क्षेत्रको नियामक निकाय (नेपाल बीमा प्राधिकरण) ले बीमक, बीमा कम्पनीहरुलाई आफ्नो क्षेत्रगत लगानीको दायरा बिस्तार गर्न, आफ्नो (पोर्टफोलियो डाइभर्स) गर्न समेत पटक-पटक निर्देशन दिइसकेको अवस्था छ । यस्तो बेलामा केही पुराना तथा ठूला जीवन बीमा कम्पनीहरुले भने निकैहदसम्म नियामकीय लय समेत पक्रेको देखिन्छ ।
यही निर्देशनमा समेत केही बीमकहरुको भने फरक मत छ । उनीहरुले बीमा कम्पनीले सधैं नागरिकको पैसा आम्दानी मात्र नभई जोखिम भार बोक्न संकलन गर्ने भएकाले भैपरी आउने ठाउँमा बुझाउनै सकस हुने गरी बीमा कम्पनीहरु जोखिम युक्त योजनामा हात हाल्न अग्रसर नहुने उनीहरुको तर्क छ ।
यता, नेपालका केही (ब्राण्डेड) नाम चलेकै बैंकका पुराना अधिकारीहरुले भने बीमा कम्पनीहरुले त्यसमा पनि खास गरी जीवन बीमा कम्पनीहरुले आफ्नो रकम एफडीमा राख्दा कतिपय अबस्थामा तत्कालको व्याजदरमा हुने फेरबदलले (डाइरेक्ट) असर नपार्ने सुनाएका छन् । भनाईको मतबल व्याजदर घट्न सक्ने सम्भावना कुनै पनि बेला हुने भएकाले त्यही किसिमको सहमतिमै बीमा कम्पनी र बैंक बिच व्यवसायीक सम्झौता हुने ती अधिकारीले बताएका छन् ।
साथै, अनुभवी बैंकहरुहरुले बैंकको व्याज पनि कुनै पनि पेशा व्यवसायको चक्र जस्तै हुने भएकाले व्याजदरमा आउने फेरबदललाई बैंकको नियतबस प्रकियाभन्दा पनि बरु यो त एउटा सामान्य प्रक्रियाको रुपमा ग्रहण गर्नु पर्ने सुझाएका छन् ।
यही बेलामा कोरोना महामारीपछि नहच्किएको जीवन बीमा क्षेत्रका ठूला अधिकारीहरुले नै बैंकको ब्याज दरले आफ्नो आम्दानीमा प्रत्यक्ष्य असर परेको प्रतिक्रीया दिन सुरु गर्नुले अब ब्याज आम्दानी भन्दा पनि केही फरक विकल्पमा समग्र उद्योगले गम्भिर भएर सोच्नु पर्ने हो कि भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।