

कामना सेवा विकास बैंकमा मोबाइल बैंकिङबाट मुद्दती खोल्ने र कर्जाको सुविधा




काठमाडौं । डिजिटल कारोबारलाई प्राथमितामा राख्दै आएको कामना सेवा विकास बैंकले आफ्ना मुद्दती खाता भएका ग्राहकहरूका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ ।
सोही कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपवाट मुद्दती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्दती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एपबाट नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको हो। त्यस्तै, यसअघि मुद्दती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो ।
तर, यस सुविधा पश्चात शाखामा नगइकनै मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ । व्यस्त समयमा समेत आफ्नो मुद्दतीखाताको रकम जुनसुकै वेला जुनसुकै स्थानवाट कर्जा लिन सकिने भएपश्चात कार्यालय समय पनी कुर्नु नपर्ने, बैंकको शाखा सम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वीत हुन विश्वास बैंकले लिएको छ ।
साथै, ग्राहकहरुलाई बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्धेश्यका साथ सेवा सुविधाहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ। सोही बैंकले यस भन्दा पहिले नै अनलाइनबाट खाता खोल्न सकिने, मोबाइल बैंकिङ एपबाट नै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिसकेको जनाएको हो।