

सेबोनको नयाँ नीतिले बजारमा कस्तो पर्ला असर ? लगानी कम्पनीको आईपीओ सम्बन्धि मापदण्डमा फेरबदल




काठमाडौं । शेयर बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको आईपीओमा जारी गर्दा लागू हुने केही नयाँ मापदण्ड जारी गरेको छ। उसले लगानी कम्पनीहरुलाई आईपिओ जारी गर्न अनुमति प्रदान गर्ने सवालमा नयाँ व्यवस्था जारी गरेको हो।
त्यसरी विभिन्न ८ वटा मापदण्ड जारी गरिएका छन् भने संगठित संस्था एवम् लगानी कम्पनी कम्तीमा विगत ३ वर्ष सञ्चालन भएर पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
यता, त्यस्ता कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने व्यवस्था जारी गरिएको बेलामा संगठित संस्था एवम् लगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने व्यवस्था ल्याइएको हो।
सेबोनले योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको अवस्थामा भने ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिबाट जारी हुने प्रारम्भिक सार्वजनिक निष्कासनमा मात्र योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न मिल्ने जनाएको छ।
त्यस्ता कम्पनीहरु ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने भन्दै सेबोनले संगठित संस्थारलगानी कम्पनीले न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने प्रावधान ल्याइएको छ भने कम्पनीको चुक्तापुँजी कम्तीमा ५० करोड हुनुपर्ने व्यवस्था गरिएको छ।
यता, नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन एवम् प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको संगठित संस्था÷लगानी कम्पनी हुनुपर्ने समेत जनाइएको छ।
साथै, वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेको हुनुपर्ने जनाइएको हो ।
सो नयाँ व्यवस्थाले सेयर बजारका कस्तो असर पर्छ ? भन्ने बारेमा लगानीकर्ताहरुले भने बोलिसकेका छैनन् ।