

शिखरको अग्रता कायमै, निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब ११ करोड बीमाशुल्क




काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमकहरुले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् । उनीहरुले २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरेर उक्त रकम आर्जन गरेको तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।
विगतका समयमा जस्तै बीमाशुल्क संकलनमा सबैभन्दा अग्रस्थानमा शिखर इन्स्योरेन्स देखिएको छ । उसले चैत मसान्तसम्म ४ अर्ब ३४ करोड ८५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा देख्न सकिन्छ।
यता, दोस्रोमा मर्जरपछि स्थापित ठूलो कम्पनी सगरमाथा लुम्बिीनी सलिकोले ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको अवस्था छ।
त्यस्तै, तेस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेका छ भने उसले ३ अर्ब १० करोड ५८ लाख ११ हजार रुपैयाँ शुल्क आर्जन गरेको हो ।
त्यसरी नै नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख ५१ हजार, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख ३० हजार, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड ९४ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख २१ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड ५५ लाख ६७ हजार, सानिमा जीआईसीले १ अर्ब ९२ करोड १९ लाख ५० हजार, आइजीआई प्रुडेन्सियलले २ अर्ब ७३ करोड ४९ लाख ७८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड ४९ लाख १५ हजार र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चैत महिनामा मात्रै निर्जीबन बीमकहरुले २ लाख ९१ हजार ७७६ वटा बिमालेख जारी गरेर ४ अर्ब १० करोड ११ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।