

लघुबीमा कम्पनीहरुलाई व्यावसायीक सेटिङ गरेको आरोप,भन्छन् : छानविन गरे हुन्छ




काठमाडौं । जन्मिन नपाउँदै लघु बीमा कम्पनीहरुलाई निकै नमिठा आरोपहरु लाग्न सुरु भएको छ । उनीहरुले आफूले आर्जन गरेका व्यावसाय कुनै ठूला घरानासँग ठेक्कामा (सेटिङ) मार्फत आर्जन गरेको आरोप लाग्न थालेको हो ।
ठिक यही बेलामा लघु बीमा कम्पनीहरुले भने त्यस्तो केही चाल कसैले पाएमा सिधैं छानविनका लागि अघि बढ्न सक्ने बताए । एक लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बीमा दर्पण डटकमसँग भने,‘सबैभन्दा धेरै निगरानी त लघु बीमा कम्पनीहरुलाई नै छ । पहिलो कुरा हामीले निकै साना र खुद्राखाद्री व्यावसाय उठाउने हो त्यसमा पनि सानो रकमको बीमामा सेटिङ भन्ने शब्द नै सुहाउँदैन । बरु कसैले करोडौ,अर्बौ रुपैयाँको ठूलो कारोबार गर्छन् भने त्यस्तो ठाउँमा व्यवसायको लागि तानातान भएको हुनसक्छ ।’
लघुबीमा कम्पनी बीमा प्राधिकरणको कान्छो छोरो
अहिले ठूला तथा पूराना निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको कान्छो छोरोको संज्ञा दिएका छन् । ठूला कम्पनीहरुले घरका कोही कान्छो सदस्यबाट स–साना गल्ती गर्दा छुट हुने जस्तै लघुबीमा कम्पनीहरु पनि बीमा प्राधिकरणको प्यारको उपज भएको बताएका हुन् । भनाईको मतलब अन्य कम्पनीलाई दफा र निर्देशनले कडाई गर्ने बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई विभिन्न विषय र शिर्षकमा अनावश्यक छुट दिएको बताएका छन् । त्यस्ता छुटको विषयमा समेत आगामी दिनमा एक–एक गरेर खुलासा गर्दै जाने र आवश्यक ठाउँमा बीमा प्राधिकरण स्वयम सच्चिदै जानु पर्नेसम्मका अभिव्यक्ती निर्जीवन बीमा कम्पनीहरुले दिएका छन् ।
लघु बीमा कम्पनीहरुले ठूला पोलिसीलाई टु्क्याएर बेच्ने हो कि टुक्रा पोलिसीको मापदण्डलाई ठूलो बनाउँनु पर्छ ? भन्ने कुरामा सबैभन्दा पहिला स्पष्ट हुनुपर्ने पुराना बीमा कम्पनीहरु सुनाउँछन् ।
उनीहरुले लघु बीमा कम्पनीहरुले (एक्चुरी भ्यालुयसन) बीमांकमा छुट पाउने, अनावश्यक रुपमा वैदेशिक रोजगारीको जोखिम भार हात थाप्न हौसिने, व्यवसायको आकार ठूलो देखाउँनका लागि कृतिम व्यवसाय लागि मरिहत्ते गर्ने गरेकोसम्मका आरोप लगाउन सुरु गरेका छन् ।
काठमाडौं बाहिर बसेर बीमितको सेवा गर्न लाइसेन्स लिएर आफ्नै व्यवसायको प्रकृति विपरीत लघु बीमा हिड्दा कुनै पनि कानुन नलाग्ने उनीहरुलाई मुख्य आरोप छ । अर्को कुरा भनेको बीमा प्राधिकरणले लघु बीमा चलाउने हो कि लघु बीमाले बीमा प्राधिकरण चलाउने हो भन्नेसम्मका प्रश्नहरु समेत बीमा बजारमा उब्जिन थालेको पाइएको छ । ठूला घरानाको आडमा लाइसेन्स लिएर आएकै कारण लघु बीमा कम्पनीहरुले अनेकौ छुट पाएको भए त्यस्तो संस्कार गलत हुने र आम नागरिक (बीमित), शेयरनधनीहरुको मागलाई ग्राहयता दिनुपर्ने माग निर्जीवन बीमा कम्पनीहरुले सुनाएका छन् ।
हाम्रो कसैसँग प्रतिस्पर्धा छैन–लघुबीमा कम्पनी
लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको दाबी गरेका छन् । ठूला कम्पनीहरुले विभिन्न व्यवसाय ताक्न लघु बीमा अग्रसर भएको शंका गरिरहेको बेलामा उनीहरुले लघु बीमाको व्यापार निकै साना रकम बराबरको मात्रै हुने र त्यस्तो व्यापारका लागि अरु कुनै पनि कम्पनीले लाइसेन्स नपाएको बताए । सोही कारण आफ्नो लाइसेन्स जे प्रयोजनका लागि लिइएको हो र नेपाल देशको सात प्रदेशमा आफूहरुले स–साना बीमा गराउँन मेहनत गरिरहेको समेत उनीहरुले स्पष्ट पारेका छन् ।
त्यस्तै, नेपाल बीमा प्राधिकरणबाट आफूहरुलाई लघुबीमा अथ्र्याउँने स्पष्ट मार्ग दर्शनको भने सदैव अभावस महशुस रहेको बताएका छन् । ठूला बीमा कम्पनी हिजो असफल रहेको ठाउँमा नै लघु बीमाले जानलाई आँट गरेको कुरा पनि भुल्न नहुने लघु बीमाका सीईओहरुले स्मरण गराएका छन् । उनीहरुले स्वस्थ र अस्वस्थ बीमाको परिक्षण गर्ने निकाय थप मजबुत भएका सबैभन्दा धेरै खुशी आफूहरु हुने समेत दाबी गरेका छन् ।
यद्यपी लघु बीमा कम्पनीहरुलाई गत आर्थिक वर्षको अन्तिम समयमा आफ्नो व्यावसायीक (फिगर) उच्च देखाउँन सेटिङ गरेको आरोप लागेको हो ।