

आज अन्तर्राष्ट्रिय मजदुर दिवस : जोखिमपूर्ण रुपमा काम गर्ने श्रमिकहरु बीमाको पहुँच बाहिर




काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । उक्त दिवसको थालनी सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको मानिन्छ । तत्कालिन समयमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित श्रमिकहरूले ठूलो आन्दोलन गरेका थिए।
सोही आन्दोलनको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनले मे १ लाई श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेको इतिहास छ। त्यसयता, संसारभरका श्रमिकहरूले यस दिनलाई आफ्नो हक अधिकारको सम्झना गर्दै मनाउँदै आएका छन्। आज १ सय ३६ औं मजदुर दिवस समेत हो ।
तर, अझै पनि विश्व इतिहासमा ठूला जोखिम मोलेर काम गर्नु पर्ने बाध्यता श्रमिक वर्गमा कायम नै छ । विभिन्न अध्ययनलाई आधार मान्दा पनि त्यस्ता श्रमिकहरुको भने बीमा भएको पाइदैन । बीमाको दायराबाट टाढा रहेर जीवनलाई अनेकौं जोखिममा राखेर काम गर्ने श्रमिकहरुले थोरै (प्रिमियम) बीमाशुल्क तिर्दा ठूला-ठूला दुर्घटनामा समेत मोटो रकमका बीमांक पाउन सक्ने प्रावधान रहेका छन् ।
आगामी दिनमा बीमा कम्पनीहरुले श्रमिकहरुलाई जबर्जस्ती भिडाउने भन्दा पनि उनीहरुको आर्थिक अवस्था सुहाउँदो बीमा प्रोडक्टहरु ल्याएर जोखिमपूर्ण रुपमा काम गर्ने श्रमिकहरुलाई बीमाको दायरामा समेटन जरुरी देखिन्छ । भलै, केही सामूहिक दुर्घटना बीमा र सस्ता जीवन बीमामा कतिपय श्रमिकहरुलाई जोड्ने चलन भर्खर भर्खर सुरु भए पनि पूर्ण रुपमा श्रमिक र श्रमिक परिवारलाई महशुस हुने गरी नै बीमा उत्पादनहरु निकाल्ने तथा त्यसमा श्रमिकहरुलाई जोड्न खाँचो रहेको देखिन्छ ।