

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्दै




काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएको भन्दै नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। पछिल्लो समय त्यसरी लगातार रुपमा राष्ट्र बैंकले रकम प्रशोचन गरि रहेको अवस्था छ ।
यता, अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । उक्त रकमका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । उक्त रकमको साँवा र व्याज भुक्तानी जेठ ७ गते हुने जनाइएको हो।