

राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाउँदै, नियामकहरुको भीडमा बलियो छवि निर्माण गर्न सफल




काठमाडौं । आज (बैशाख १४) गते नेपाल राष्ट्र बैंक (एनआरबी) ले आफ्नो ७० औं वार्षिकोत्सव मनाउँदैछ । राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक समेत हो ।
उक्त बैंकले मौद्रिक नीति बनाउनेदेखि मुद्राको निष्कासनसम्मको काम गर्छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गरी वित्तीय प्रणालीलाई स्थिर राख्न पनि राष्ट्र बैंकको भूमिका अपरिहार्य मानिन्छ।
विदेशी विनिमय व्यवस्थापन गरेर आर्थिक स्थिरता कायम राख्न पनि राष्ट्र बैंक अग्रसर रहेको पाइन्छ। साथै, भुक्तानी प्रणालीको विकास र विस्तार गरी आर्थिक कारोबारलाई सहज बनाउँन समेत केन्द्रिय बैंक लागि परेको देखिन्छ। समग्रमा, नेपालको आर्थिक विकास र स्थिरतामा नेपाल राष्ट्र बैंकको महत्वपूर्ण योगदान रहेको बुझ्न सकिन्छ।
अझ खास गरेर धेरैवटा नियामक निकायहरुको तुलनामा नेपाल राष्ट्र बैंकलाई बलियो, सक्रिय एवम् प्रभावकारी नियामकको रुपमा बुझ्ने गरिएको छ । यसको अलावा अन्य नियामकहरुबाट हुने कतिपय कैफियतमा समेत नेपाल राष्ट्र बैंक स्वत जिम्मेवार हुनुपर्ने प्रावधानहरु समेत छन् । कारण, अर्थतन्त्रका धेरै पाटाहरुमा उसको प्रत्यक्ष-अप्रत्यक्ष संलग्नता हुने गर्छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो ७० औं वार्षिकोत्सवको अवसरमा मुलुकको समस्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दीगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनियम नीति निर्माण गरी त्यसको व्यवस्थापन र त्यसको वित्तीय सेवाको पहुँच बिस्तार गर्दै वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वस्नीयता अभिवृद्धि गर्ने र मुलुकमा परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने सबैलाई प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
पछिल्लो समय बैंक वित्तीय संस्थाहरुले पुर्याएका वित्तीय सेवा, तथा बढ्दो प्रविधिको प्रयोगको ठूलो जस नेपाल राष्ट्र बैकलाई दिन समेत कुनै कन्जुस्याईं गर्न नहुने देखिन्छ ।
यसको अर्थ बैंकहरुका कतिपय सूचकहरु अस्वस्थकर रुपमा फुलेका हुन् कि स्वस्थ रुपमा मोटाएका हुन् ? त्यसलाई मापन गर्ने मुख्य यन्त्र (प्यारामिटरहरु) राष्ट्र बैंककै हातमा छ ।
आगामी दिनमा कुनै पनि बैंक वित्तीय संस्थाका परिसूचकहरु लगाम खुस्केको घोडा जसरी दौड्ने दिन नआउँन । बैंक वित्तीय संस्थाका अनेकौं प्रहार माथि समेत राष्ट्र बैंकले आफैलाई सिधैं औँला ठड्याएको जस्तो महशुस गरी नियामक र बैंकहरुको सम्बन्ध कस्तो छ ? त्यसको अध्ययन गर्दै नियामकलाई थप बलियो तथा बैंक वित्तीय संस्थाहरुलाई समेत उसको खास दायित्वमा निर्भर बनाउँन मुख्य भुमिका खेलोस् । साना पान पसलदेखि ठूला औद्योगिक क्षेत्रसँग दैनिक जोडिने आर्थिक क्षेत्रको गम्भिर्यतामा राष्ट्र बैंकका खोजीहरु थप सबल र परिष्कृत बन्दै जाउन् ।
राष्ट्र बैंककै गभर्नर नियुक्ती जस्तो विषय राजनैतीक खिचातानीको शिकार बन्न नपुगोस् ।
शुभकामना ।