

गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले एक्कासी बुझाए राजीनामा




काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा बुझाएका छन् । सदस्य भट्टराईले गत चैत ९ गते नै समिति बनाए पनि गभर्नर छान्नका लागि एक पटक पनि बैठक नडाकिएको भन्दै सो पदबाट बाहिरीन राजीनामा बुझाएको खुलाएका हुन।
यता, भट्टराईले आज दिउँसो अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएको बताएका छन् । गभर्नर सिफारिसका लागि सरकारले अर्थमन्त्री पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा पूर्वगभर्नरका तर्फबाट भट्टराईलाई चयन गरिएको थियो । विज्ञ सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन् ।
समयमै नियुक्त हुनुपर्ने राष्ट्र बैंकको गर्भनर जस्तो पद राजनैतीक किचलोका कारण अन्योल अवस्थामा पुगेको देखिन्छ ।
केही दिन अघि मात्रै बिचौलियाहरु हाबी हुँदा गभर्नर नियुक्तीको प्रक्रिया अन्योलमा परेको प्रतिपक्ष दलहरुले दाबी गरीरहेका छन् भने यता सरकार पक्ष भने अर्थतन्त्रलाई फिट हुने व्यक्ती नै अबको गभर्नर बन्ने पक्का भएको दाबी गर्दै आएको अवस्था छ । यद्यपी उक्त पदको लागि हाल ठूलो होडबाजी भने चलेकै छ ।